काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वित्तीय क्षेत्रका एक प्रभावशाली व्यक्तित्व, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ६३ वर्षीय पाण्डे आफ्नो मोबाइल स्विच अफ गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा हिजो मंगलबार राति कमलामाई–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा गरिएको सवारी चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाण्डेमाथि मुख्यत: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियामा राज्यलाई हानी पुर्याएको र ठगी गरेको आरोप लागेको छ । स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भई सरकारी नियन्त्रणमा आएको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्सानी पुर्याई सरकारको हक टुटाउने उद्देश्यले काम गरेको देखिएको सीआईबीको ठहर छ ।
बैंकले लिलामीको सूचना निकाल्दा घर बहाल र विद्युत् महसुल वापतको ४० करोड रुपैयाँ समेत समावेश गरी बोलपत्र आह्वान गरेको थियो । सो रकम बैंकले असुल गरे पनि हालसम्म न त घरधनीलाई बहाल बुझाएको छ, न त विद्युत् महसुल नै तिरेको छ ।
लोन रिकभरी कमिटी’ (एलआरसी) को अध्यक्ष समेत रहेका पाण्डेले पदको दुरुपयोग गरी आपराधिक विश्वासघात गरेको सीआईबीको दाबी छ ।
पाण्डेलाई अहिले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । यस प्रकरणमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
विस्तृत विवरणका लागि यो विज्ञप्ति अध्ययन गर्नुहोस्–
