काठमाडौं । ट्राफिक प्रहरीले आज काठमाडौंमा सवारी साधनमाथि विशेष चेकिङ गरेको छ ।
मुलपानी क्रिकेट ग्राउण्डनजिक आज सोमबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नका लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौंको मुलपानी क्षेत्रमा आज खटिएको थियो ।
त्यस्तै, काठमाडौंको बबरमहल सडक खण्डमा आज गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् ।
वातावरण विभाग बबरमहल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधन फेला परेका हुन् ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन तथा सुरक्षित यात्रा गर्न पाउनु यात्रुको अधिकार भएको हुँदा सुरक्षाको सुनिश्चितता प्रदान गर्न सवारी धनी तथा व्यवसायीहरुलाई सम्वेदनशील बन्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।