काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) प्रहरीले फेला पारेको छ ।
प्रहरीले फेला पारेको ती सवारी साधन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३३ ओटा मोटरसाइकल र १७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकास्थित भीमढुङ्गा, स्वयम्भु, नेपालटार, चमती, कपन, थली, बौद्ध, साँखु, नयाँबस्ती, गोकर्ण, माछापोखरी, महाराजगञ्ज, सुकेधारा, पुल्चोक, साङ्ला, फस्कु, चापागाँउ, गठ्ठाघर, एयरपोर्ट, कमलबिनायक, मालिगाउँ, काँडाघारी, जनसेवा, जम्बुडाँडा, मण्डिकाटार र चुनदेवी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ५० ओटासहित ३९४ ओटा सवारी साधन गत साउन यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २२ ओटा दुईपांग्रे सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिएपश्चात सवारी धनीहरुले खुसी व्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले अनुरोध गरेका छन् ।