काठमाडौं । प्रहरीले काठमाडौं नागढुङ्गा क्षेत्रबाट ६ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्ट क्षेत्रमा गरिएको लागु पदार्थ सेवन (लापसे) चेकिङका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेकामध्ये चार जना ट्रक चालक, एक जना सार्वजनिक यात्रुवाहक बस चालक र एक जना माइक्रोबस चालक छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्युरो तथा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेकिङ गर्दा उनीहरू लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका हुन् ।
पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गर्नु गम्भीर लापरबाही र दण्डनीय कार्य भएको प्रहरीले उल्लेख गरेको छ । यस्तो कार्यले चालक मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
प्रहरीले यात्रुहरूलाई आफू चढेको सवारीका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरी हटलाइन १०० मा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।