काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ई–गभर्नमेन्ट प्रोस्युरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरो भोटाहिटीमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोको संयुक्त टोलीले उक्त घटनामा संलग्न शंकास्पद व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै सम्बन्धित डकुमेन्ट परिवर्तन गरी प्रणालीमा हेरफेर गर्ने गैरकानुनी कार्य गरेका थिए, जसले सार्वजनिक खरिद प्रक्रियामा गम्भीर असर पार्ने देखिएको छ ।
पक्राउ पर्नेहरूमा पाख्रिवास–५ धनकुटाका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथली–३ का २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुर–१ का ३९ वर्षीय संजय भट्ट, काठमाडौं–३३ का ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुर हेटौंडा–१७ का ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहवी–५ का ६२ वर्षीय जीवन कुमार दास रहेका छन् ।
उनीहरूलाई काठमाडौं, भक्तपुर, गुल्मीलगायत विभिन्न स्थानबाट फरक–फरक मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उक्त घटनामा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।