काठमाडौं । नेपाल एपीएफ रंगशालामा ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२’ खेलकुद प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (आइर्एजीपी) नारायणदत्त पौडेलले गरे ।
उद्घाटन खेलअन्तर्गत रिले दौडतर्फ विजयी पुरुष तथा महिला खेलाडीहरूलाई अतिरिक्त महानिरीक्षक पौडेलले पुरस्कार वितरण गरे ।
यसैबीच, मंगलबार सम्पन्न फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही; नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की तथा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली विजयी भएका छन् ।
-1775599190.JPG)
विन्ध्यावासिनी बाहिनीले नं. ३ गढीमाई बाहिनी, मकवानपुरलाई ४–० गोल अन्तरले पराजित गरेको छ । मुक्तिनाथ बाहिनीले नं. ६ महेश्वरी बाहिनी, सुर्खेतलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको छ भने बैद्यनाथ बाहिनीले नं. २ छिन्नमस्ता बाहिनी, महोत्तरीलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको छ ।
भलिबलतर्फ, नं. ७ बैद्यनाथ बाहिनी, कैलालीले नं. १ बराह बाहिनी, सुनसरीलाई २५–१५, २५–२० र २५–१८ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी नं. २ छिन्नमस्ता बाहिनी, महोत्तरीले नं. ६ महेश्वरी बाहिनी, सुर्खेतलाई २५–२०, २५–२१ र २५–१६ को सेटमा हराउँदै जित हासिल गरेको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपालको प्रशिक्षण प्रतिष्ठानसहित ८ वटा बाहिनी मुख्यालयका खेलाडीहरूको सहभागिता रहेको छ । फुटबल, भलिबल, एथ्लेटिक्स र कबड्डी गरी चार विधाका खेल समावेश गरिएको प्रतियोगितामा कुल ६२२ जना पुरुष तथा महिला खेलाडी सहभागी छन् ।
उक्त प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत, विल्लादार जवान तथा विभिन्न विधाका खेलाडीहरूको उपस्थिति रहेको थियो ।