काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले सस्तो दरमा सुनचाँदीका गरगहना बनाइदिने प्रलोभनमा ठगी गर्दै आएका बाबुछोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका–६ घर भई हाल काठमाण्डौं महानगरपालिका–१२ टेकु बस्ने ५१ वर्षीय जिवन कुमार ठाकुर र उनका २७ वर्षीय छोरा निहाल ठाकुर छन् ।
उनीहरूलाई हिजो आइतबार काठमाण्डौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार जीवन कुमार ठाकुरलाई बैंकिङ कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको छ भने निहाल ठाकुरलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।
अनुसन्धानबाट न्यूरोडस्थित ‘स्वर्ण संसार’ नामक सुनचाँदी पसल विगत १५ वर्षदेखि जीवन कुमार ठाकुरले आफ्नै छोराको नाममा दर्ता गरी सञ्चालन गर्दै आएको खुलेको छ । पछिल्लो ८ महिनादेखि उनीहरू पीडितहरूसँग सम्पर्कविहीन भई फरार रहेका थिए ।
प्रहरीका अनुसार उनीहरूले टिकटक लगायत सामाजिक सञ्जालमार्फत पुराना गरगहनालाई सस्तो दरमा नयाँ बनाइदिने, साटफेर गर्दा छुट दिने जस्ता आकर्षक अफर सार्वजनिक गर्दै पीडितहरूलाई प्रलोभनमा पारेर गरगहना तथा नगद रकम लिई ठगी गर्दै आएका थिए ।
यसअघि पनि जीवन कुमार ठाकुरविरुद्ध बैंकिङ कसूर तथा ठगी सम्बन्धी मुद्दाहरू विभिन्न मितिमा दर्ता भएको पाइएको छ । साथै भावना बरालसहित १० जना भन्दा बढी पीडितहरूले समेत उनीहरूविरुद्ध लिखित उजुरी दिएका छन् ।
प्रहरीका अनुसार हालसम्म उक्त घटनामा जम्मा बिगो एक करोड २० लाख ९२ हजार ९६७ रुपैयाँ पुगेको छ ।
प्रकरण सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।