कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा सशस्त्र प्रहरीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न भएकोे हो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले स्वास्थ्य शिविर सञ्चालनका लागि आफ्नो पालिकाको वडा छनौट गरेकोमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी परीबारलाई धन्यबाद व्यक्त गरे । अस्पतालको पहुँचभन्दा बाहिर रहेका स्थानीयले शिविरबाट फाइदा लिन सक्नेमा उनले जोड दिए ।
यस्तै, स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनिपती दिग बिजय सुबेदीले बाहिनीको २५औँ स्थापना दिवसको अवसरमा पुनर्वासमा स्वास्थ्य शिविर आयोजना गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै शान्ति सुरक्षा, विपद् व्यवस्थापन र चोरी तस्करी नियन्त्रणमा काम गर्दै आएको उनले बताए ।
सीमा क्षेत्रमा बस्ने नागरिक स्वस्थ रहे मात्र देशको सीमा स्वस्थ रहने बताउँदै सीमा क्षेत्रनजिक रहेको सीमा बस्तीमा स्वास्थ्य शिविर आयोजना गरिएको उनको भनाइ थियो ।
शिविर पुनर्वास नगरपालिका वडा नं. ९ को वडा कार्यालयको परिसरमा आयोजना गरिएको थियो । स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धी परीक्षण तथा उपचार सेवा प्रदान गरिएको पुनर्वास ९ का वडाध्यक्ष नर बहादुर बिकले जानकारी दिए । शिविरमा आँखा, स्त्रीरोग, दाँत तथा अन्य सामान्य रोगका बिरामीहरूले सेवा लिएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका अनुसार आँखासम्बन्धी समस्याका २९४ महिला र १९१ पुरुष गरी ४८५ जनाले सेवा लिएका छन् । यस्तै स्त्रीरोग सम्बन्धी ७२ जनाले सेवा लिएका छन् भने डेन्टलसम्बन्धी समस्यामा ७५ महिला र ५७ पुरुष गरी १३२ जनाले सेवा लिएका छन् ।
अन्य रोगसम्बन्धी ५० महिला र ३० पुरुष गरी ८० जनाले सेवा लिएको छन् । समग्रमा कुल ७६९ जना सेवाग्राही लाभान्वित भएको वैद्यनाथ बाहिनीले जनाएको छ ।
कार्यक्रममा पुनर्वास नगरपालिका, पुनर्वास ९ को वडा कार्यालय साथै सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी र सीमा सुरक्षा गुल्म बेलौरी सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा स्वास्थ्य चेकजाचका लागी आएका स्थानीयहरूले ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीले दिएको सेवा अत्यन्तै उपयोगी भएको बताएका छन् । उनिहरूले आगामी दिनमा पनि यसरी नै जनतामैत्री भएर काम गर्नसमेत आग्रह गरेका छन् । –केशब भट्टराईबाट
तस्बिरहरूमा हेरौँ नि:शुल्क स्वास्थ्य शिविर–




