काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की, रुकुम पूर्व, गुल्मी र नुवाकोट स्थायी घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्दै आएका व्यक्तिहरू रहेका छन् । उनीहरूले क्यानडा, अमेरिका, क्रोएसिया र रोमानिया जस्ता देशहरूमा पठाइदिने भन्दै पीडितहरूबाट ठूलो रकम असुल गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कास्कीका विकल पौडेल, रुकुमपूर्वका धनिराम बुढा, गुल्मीका काशिराम दर्जी र नुवाकोटकी सरस्वती भण्डारी छन् ।
प्राप्त विवरण अनुसार कास्कीको रूपा गाउँपालिका–५ घर भई हाल टोखा बस्ने ३६ वर्षका विकल पौडेलले एक जना पीडितलाई क्यानडा पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोग छ । उनी चैत ९ गते पक्राउ परेका हुन् ।
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१२ घर भई हाल तारकेश्वर बस्ने ४२ वर्षका धनिराम बुढाले अमेरिका पठाउने प्रलोभनमा १८ लाख रुपैयाँ असुल गरेका थिए । उनलाई पनि चैत ९ गते नै पक्राउ गरिएको हो ।
गुल्मी कालीगण्डकी गाउँपालिका–६ घर भई हाल टोखा बस्ने ३७ वर्षका काशिराम दर्जीले क्रोएसिया पठाउने भन्दै ३ जना पीडितबाट ३ लाख २० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । उनलाई चैत १० गते पक्राउ गरिएको हो ।
यस्तै, नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई हाल टोखा बस्ने २५ वर्षकी सरस्वती भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा चैत १० गते पक्राउ परेकी हुन ्।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने यस्ता प्रलोभनबाट बच्न र आधिकारिक प्रक्रिया मात्र अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।