काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब ५ लाख ४४ हजार ९४० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।
चेकजाँचका क्रममा कोटहीमाई गाउँपालिका–३ मर्यादपुरबाट १११ बोतल पेय पदार्थ, सिद्धार्थनगर नगरपालिका–८ कान्छीबजारबाट हुक्कामा प्रयोग हुने ३१ पोका फ्लेभर, तथा विभिन्न स्थानबाट ठूलो परिमाणमा केरा, किराना सामान र अन्य उपभोग्य वस्तु बरामद गरिएको छ ।
यसैगरी, रोहिणी गाउँपालिका क्षेत्रबाट ३ वटा जिउँदा बाख्रा तथा विभिन्न किराना सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मायादेबी गाउँपालिका र ओमसतिया गाउँपालिकाबाट मोटरसाइकलसहित प्लास्टिक पाइप र २०० केजी माछा समेत बरामद गरिएको छ ।
त्यस्तै, सिद्धार्थनगर क्षेत्रबाट कपडा, स्याण्डो, हरियो केराउ, चिनी लगायतका सामग्री तथा १४८ जोर जुत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि जिल्लाभर चेकजाँचलाई निरन्तर कडाइ गर्ने जनाएको छ ।