काठमाडौं । वैदेशिक भ्रमणको प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
श्रीटेल होलिडेज नामक ट्राभल एजेन्सीमार्फत ठगी भएको उजुरीपछि गरिएको कारबाहीमा सात जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उक्त कम्पनीले विभिन्न फोन नम्बर प्रयोग गरी सर्वसाधारणलाई ‘ट्राभल लटरी परेको’ भन्दै युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा अत्यन्त सस्तो दरमा भ्रमण गराउने प्रलोभन दिने गरेको थियो । त्यसरी विश्वास दिलाएर पीडितबाट रकम असुली गरिए पनि न भ्रमण गराइएको थियो न त रकम फिर्ता गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१०, थापागाउँस्थित लाखेचौर मार्गमा रहेको कम्पनीको कार्यालयबाट २०८२ चैत ३ गते सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी घर भई हाल भक्तपुर बस्ने २६ वर्षीय विवेक रेग्मीसहित ६ जना भारतीय नागरिक रहेका छन् ।
पक्राउ परेकामध्ये अन्य व्यक्तिहरू भारतको तेलंगाना राज्य हैदरावाद क्षेत्रका रहेको र हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२, बालकुमारीमा बसोबास गर्दै आएका थिए । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता प्रलोभनमा नपर्न र कुनै पनि सेवा लिनुअघि आधिकारिकता पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

