काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।
तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले समुद्घाटन गरेका छन् । समारोहमा आफ्नो मन्तव्य राख्दै रक्षा सचिव केदारनाथ शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्त्व र आवश्यकता बारे प्रकाश पारेका थिए ।
चैत्र १८ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल ३० जनाको सहभागिता रहेको छ । विस २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भई सकेका छन् ।
समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्व विद्यालयका रेक्टर तथा उच्च पदाधिकारीहरू, विभिन्न मन्त्रालय लगायत सरकारी/गैर सरकारी संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरू, रथीवृन्द, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यस किसिमको उच्च स्तरको तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवं धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रहरू बिच कार्यगत एकता कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।