काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले बिहीबार आयोजित कार्यक्रममा ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर हस्तान्तरण गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बरामद गरिएका सवारी साधन धनीलाई जिम्मा लगाएका थिए । कार्यालयमा दर्ता भएका निवेदन तथा विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा ती सवारी साधन फेला पारिएको जनाइएको छ ।
प्रहरीका अनुसार केही सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन र चागललगायत स्थानबाट बरामद गरिएको हो ।
आज फिर्ता गरिएका ५३ सहित चालु आर्थिक वर्षको साउनयता २९६ वटा दुईपाङ्ग्रे सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ । साथै चोरीमा संलग्न रहेको आरोपमा १६ वटा चोरीका सवारी साधनसहित २९ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा पठाइएको छ ।
सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ४१७ र २०८१/०८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई जिम्मा लगाइएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्न, सुरक्षा साइरन र जिपिएस जडान गर्न तथा सुनसान स्थानमा पार्किङ नगर्न आग्रह गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले बताएका छन् ।