रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा चोरीको स्कुटर तथा सुनका गरगहना सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिति २०८२ फागुन ५ गते राति करिब १:०० बजे इलाका प्रहरी कार्यालय रन्यौर मा सैनामैना नगरपालिका–४ कर्बला स्थित भित्री सडक खण्डमा लु ९९ प ७३८८ नम्बरको स्कुटर चोरी गर्न आएका व्यक्तिहरू चाबी सहित स्कुटर छाडी फरार भएको भन्ने सूचना प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त स्कुटर नियन्त्रणमा लिई चेकजाँच गर्दा पहेँलो सुनजस्तो देखिने विभिन्न गरगहना तथा अन्य सामान फेला पारेको थियो । त्यसपछि थप अनुसन्धान तथा खोजतलासका क्रममा सैनामैना नगरपालिका–१ बनकट्टा क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–१ बस्ने अन्दाजी २३ वर्षीय लोकबहादुर विक र सैनामैना नगरपालिका–१ बस्ने ३३ वर्षीय ‘माँगुरे’ भन्ने दिपक गाहा रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा सुनजस्तो देखिने बाला १ थान, हार १ थान, झुम्का ३ थान, मिनी हार १ थान, सिक्री हार १ थान, मसिना तारजस्ता बाला १ थान, चोरीको लु ९७ प ३१४२ नम्बरको स्कुटर तथा बिलबुक र मोबाइल २ थान रहेका छन् ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।