काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २५औँ वार्षिकोत्सव तथा रजत महोत्वसको अवसर पारेर नेपाल पूर्व सशस्त्र प्रहरी संघले मधेश प्रदेशमा प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन २०८२ तथा १८औँ साधारण सभाको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा आज सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा उक्त सम्मेलन तथा साधारण सभाका आयोजना गरिएको हो ।
सो अवसरमा महानिरीक्षक अर्यालले ज्येष्ठ सदस्य, वीरगती प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजन तथा सशस्त्र प्रहरी उपचार सहायता तथा राहत कोषमा रकम प्रदान गर्नेहरूलाई समेत नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।
महानिरीक्षक अर्यालले सेवामा कार्यरत रहि कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै घाइते तथा अंगभंग भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूप्रति शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।
-1767030528.jpeg)
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले धनुषा र सर्लाहीका मानवसेवा आश्रम सञ्चालकहरू रिता पोख्रेल र विवेक महतोलाई ५०/५० थान ट्र्याकसुट समेत हस्तान्तरण गरेकी छिन् ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूप्रति लक्षित गरी सङ्गठनले लिएको विभिन्न कल्याणकारी तथा अन्य कार्यक्रमप्रति हार्दिक धन्यवाद दिँदै यस्ता कार्यक्रमले सम्पूर्ण अवकाशप्राप्त कर्मचारीमा हौसला बृद्धि हुने विश्वास व्यक्त गरे । उनले अवकाशपश्चात देश विदेशमा छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरू एकजुट भई देश र सङ्गठनलाई आवश्यक परेको समयमा सेवारत रहँदाका अनुभवहरूलाई समेटी थप जनशक्तिको रूपमा कार्य गर्न तयार रहेको बताउँदै यस्ता कार्यक्रम क्रमश: सबै प्रदेशमा सञ्चालन गर्दै जाने बताए ।
कार्यक्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका पूर्व सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले उच्च मनोवलकासाथ सेवामा प्रवेश गरी अवकाश प्राप्त गरेका सम्पूूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई सङ्गठनलाई आवश्यक परेको बखत एकजुट भएर लाग्नुपर्ने बताए ।
-1767030529.jpeg)
त्यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुवोध कुमार अधिकारीले अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू म होइन हामी भन्ने भावना लिई देश र सङ्गठनलाई आवश्यक परेको समयमा एकजुट हुने र सङ्गठनको लागि कार्य गर्ने कुरामा जोड दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले अवकाश पश्चात देशभर छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई एकजुट हुन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने र अवकाशप्राप्त कर्मचारीहरूलाई एकताबद्ध भई सङ्गठनको हित र प्रगतिको लागि सकारात्मक तथा रचनात्मक सहयोग गरिरहनेमा विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा संघका महासचिव अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रेमराज पोखरेलले संघको वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. १ र ३ बाहिनी मुख्यालयका बाहिनीपतिहरू, तालिम केन्द्रका समादेशकहरू, गणपति लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति थियो ।