काठमाडौं । हमासले विपिन जोशीसहित चारजना मृत बन्धकहरूको शव हस्तान्तरण गरिने जानकारी दिएको छ ।
हमासको सैन्य शाखा, अल–कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूको नाम सार्वजनिक गर्दै विपिनसहित चार बन्धकको शव सोमबार हस्तान्तरण गर्ने जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।
चार जनामा विपिन जोशीसहित इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेका छन् । २८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।
योसँगै नेपालमा विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ ।
अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टाभित्र बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने थियो तर हमासले त्यसको अवज्ञा गरेको भन्दै आलोचना गरिएको छ ।
यी हुन हमासले रिहा गरेका २० बन्धक
हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो । हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा उत्तरी गाजाबाट माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै हमासले दक्षिणी गाजाबाट छोडेका १३ बन्धकमा ३६ बर्षिय एल्काना बोहबोट, २१ बर्षिय रोम ब्रास्लाव्स्की, २१ बर्षिय निम्रोद कोहेन, ३५ बर्षिय डेभिड कुनियो, २८ बर्षिय एरियल कुनियो, २४ बर्षिय इभ्यातार डेभिड, ३७ बर्षिय म्याक्सिम हर्किन, ३९ बर्षिय इटान हर्न, २७ बर्षिय सेगेभ क्याल्फन, २३ बर्षिय बार कुपरस्टेन, २५ बर्षिय योसेफ-चैम ओहाना, ३२ बर्षिय अविनाथन वा र २५ बर्षिय मतन जङ्गाउकर रहेका छन् ।
हमासले आफुहरुसँग भएका जीवित बन्धक सबै हस्तान्तरण गरेको जानकारी गराएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । नेपाली युवा विपिन जोशी भने जीवित नभएको इजरायली सेनाले परिवारलाई जानकारी गराएको इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले जानकारी गराएका छन् । यद्यपी विपिन जोशीका परिवारले विपिन फर्किनेमा आफुहरु आशावादी रहेको बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।