सप्तरी । डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका–८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका–७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका–२ बस्ने २० वर्षीय दिपेन मरिक छन् ।
यस्तै, खडक नगरपालिका–११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका–८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका–१ बस्ने २८ वर्षीय चन्दर मरिक, सिराहा लाहान नगरपालिका–६ बस्ने ५२ वर्षीय महेन्द्र गोड्से र लाहान नगरपालिका–८ बस्ने ३८ वर्षीय उमेश साह सोनार रहेका छन् ।
सुरूङ्गा नगरपालिका–८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ ।
उनीहरू उपर डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।