काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज सोमबार काठमाडौं महानगरपालिका–७ उमाकुण्डबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा रामेछापको सुनापति गाउँपालिका दुई घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सुनापति गाउँपालिका–३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेजबहादुर तामाङ छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५३ प ३७ ८२ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०५२ प ३६ ५७ राखि चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–५ घर भइ हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने रामबहादुर गौतमले काठमाडौँ महानगरपालिका–३१ प्रयागमार्गबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएको प्रहरीले बताएको छ ।
मोटरसाइकलसहित नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नाका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नसमेत अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएको छ ।