काठमाडौं । अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् ।
देशका विभिन्न जिल्ला र स्थानबाट उनीहरू पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल सहित सोही नगरपालिका–१८ कटान बस्ने ३१ वर्षीय बिनोद चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरीको इटहरी उमपमहानगरपालिका–२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–२ त्रिवेणी चोक बस्ने २३ वर्षीय आकाश भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट हवौचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीकै धरान उपमहानगरपालिका–१३ निसाने डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय सुरेश खत्वे र २० वर्षीय तुलसी पासवान रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले राजारानीबाट धरानतर्फ आउँदै गरेको को.१ ख ६०९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८५ एम्पुल, फेनारगन १ सय ८५ एम्पुल र बुप्रेनोर्फिन १ सय ८५ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका–८ बलीथुम बस्ने ६३ वर्षीय प्रेम बहादुर परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ६४९८ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्द बहादुर खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङबाट नियन्त्रित लागूऔषध फेनारगन ४७ एम्पुल, नुर्फिन ४७ एम्पुल, डाईजेपाम ५१ एम्पुल, अवैध लागूऔषध गाँजा ३ सय ग्राम र टापेन्टाडोल ७ ट्याब्लेट सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बाग्लुङ घर भएका २६ वर्षीय पूर्ण मगर, धादिङ घर भएका २३ वर्षीय किरण अर्याल क्षेत्री, पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने २८ वर्षीय प्रदिप सुनार र सोही महानगरपालिका–६ दिगोपाटन बस्ने पाल्पा घर भएका २३ वर्षीय बिनोद सिन्जाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले पूर्णको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको गौरादह नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित सोही नगरपालिका–१ चैतु चोक बस्ने २५ वर्षीय लुखीराम बास्की समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलबस्तु बागगंगा नगरपालिका–६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने १९ वर्षीय बिकाश राज पाण्डे र सोही ठाउँ बस्ने २२ वर्षीय कबिन चन्दन रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८८ प १९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।