काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य र रोजगारीको प्रलोभन देखाएर पाँच जना दलालले विभिन्न युवायुवतीबाट झण्डै दुई करोड रुपैयाँ ठगी गरेका छन् ।
न्यूजील्याण्ड, क्यानडा, मलेसिया, क्रोयसिया, कतारलगायत मुलुकमा आकर्षक रोजगारी दिलाइदिने भन्दै उनीहरूले एक करोड ६२ लाख ७४ हजार रुपैयाँ ठगी गरेका छन् ।
पक्राउ पर्नेहरूमा निजगढी–१२ बाराका ४० वर्षीय रामबहादुर थिङ, राप्ती नगरपालिका–१ चितवनका प्रेमकृष्ण श्रेष्ठ, माप्य दूधकोशी गाउँपालिका–४ सोलुखुम्बुका ३० वर्षीय सविक राई र ललितपुर महानगरपालिका–३ ललितपुरका ४४ वर्षीय मनोज महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । उनीहरूमध्ये थिङलाई आइतबार तथा श्रैष्ठ, राई र महर्जनलाई सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
सूचना अधिकारी आचार्यका अनुसार थिङले मलेसियाको रोजगारी देखाएर तीन लाख ९९ हजार, श्रेष्ठले क्रोयसियाको रोजगारी देखाएर आठ लाख, राईले कतारको रोजगारी देखाएर तीन लाख ५० हजार र मनोज कर्णले क्यानडाको रोजगारी देखाएर एक करोड ३४ लाख २५ हजार रुपैयाँ ठगी गरेका छन् । उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यस्तै, वैदेशिक रोजगारीकै लागि न्यूजील्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने अर्का एक जनालाई पनि सोही कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएकी २३ वर्षीया दिप्ती केसी छिन् ।
वैदेशिक रोजगार विभागबाट प्राप्त पत्रका आधारमा उनी पक्राउ परेकी हुन् । उनलाई १३ लाख रुपैयाँ बिगो तोकिएको छ ।