काठमाडौं । नेकपा एमालेकी सांसद भगवती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताएकी छिन् ।
पूर्वमन्त्री समेत रहकी सांसद चौधरीले संसदमा विशेष समय लिएर वैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा गएका नेपालीहरुले शारीरिक, मानसिक र कानुनी समस्याहरु झेलिरहेको जानकारी गराउँदै भिजिट भिसालाई रोक्नु भन्दा पनि पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताएकी हुन् ।
‘भिजिट भिसामा विदेशिएका नागरिक ठगिएको संख्या बढ्दै गएको छ । भिजिट भिसामा जाँदा दलाललाई लाखौं रकम बुझाउनुपर्ने, भनेजस्तो काम नपाउने, कतिपय अवस्थामा शारीरिक तथा कानुनी अप्ठ्यारोमा पर्दा उद्धार गर्न पनि असहजता छ,’ सांसद चौधरीले भनिन्, ‘यस्ता घटनामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले नै सहजीकरणको जिम्मा लिनुपर्छ ।’
एक साताअघि यूएईको दुबईमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सांसद तथा चेञ्जमेकर्सको कन्कलेभमा सहभागी हुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँगको भेटघाटमा उनीहरुले भोग्नु परेको सास्ती र पीडा सुन्ने क्रममा अधिकांश नेपालीहरुले तोकिएको काम तथा तलब र सेवा सुविधा नपाएको, दुर्व्यहार सहनुपरेको तथा कतिपय महिला पुरुषहरुले कानुनी समस्यामा भोगिरहेको अवगत गराएको सांसद चौधरीले बताउनु भयो ।
सांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन आग्रह गरिन् । यस्तै, उनले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई जीटूजीमार्फत पठाउन पनि आग्रह गरिन् । वैदेशिक रोजगारका लागि विदेशिएका नेपाली महिलाहरुलाई तस्कर तथा हिंसाबाट जोगाउन जीटूजी व्यवस्था अनिवार्य गरिनुपर्नेमा जोड दिइन् ।
कामदारहरुलाई सर्भेन्ट अर्थात् नोकर भन्ने शब्दको सट्टा केयर गिभर, हाउस किपर जस्ता शब्दहरु राखिँदा नेपालीहरु प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्ने सांसद चौधरीको सुझाव छ ।