काठमाडौं । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप २ जनाको शव चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा फेला परेको छ ।
अन्य वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मिले भोटेकोशी र त्रिशूलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।
नदीमा आएको बाढीको कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई १४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पुर्याएको छ ।
त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजी हेलिकोप्टर कम्पनीमार्फत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बलले जनाएको ।
त्यसैगरी चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकहरुलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको र विपद्को कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका ४ वटा ईभि साधन र ४ वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार ती कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको हो ।
त्यस्तै, सो क्षेत्रमा अवरुद्ध भएको संचार र विद्युत् संचालनमा ल्याईएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायहरुलाई निरन्तर परिचालन गरी आजदेखि सुचारु गराएको हो ।
विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढी सडकखण्डलाई यथाशीघ्र सुचारु गर्नको लागि जलविद्युत् आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र बाटो सुचारु गनका लागि आवश्यक समन्वय समेत भइरहेको बताईएको छ ।
असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको थियो ।
असार २४ गते मध्यरातमा आएको बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।




