काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले साताव्यापी कार्यक्रमहरू आयोजना गरेको छ ।
संघको २४औं वार्षिकोत्सव (असार १७) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नंं ५ बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीले लुम्बिनी प्रदेशमा साताव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रदेश सभाकी उपसभामुख मेनुका खाँड केसीले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसनीको क्षेत्रमा क्रियाशील महिला अभियन्ता माया केसी, सपना शर्मा र महिला उद्यमी अमृता भुजेललाई सम्मान गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको लोककल्याणकारी कार्यमा गरेको कार्यको प्रशंसा गरिन् । 
उनले एउटा राष्ट्रसेवकको श्रीमती भई आफूलाई परोपकारी कार्यमा समर्पित गराउन पाउनु सौभाग्य रहेको बताउँदै लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले वार्षिकोत्सवको अवसरमा मानव सेवाको क्षेत्रमा पुर्याएको योगदानमा आफु जानकार रहेको बताइन् ।
सो कार्यक्रममा संघकी प्रदेश अध्यक्ष तारा देउवा र शिवराज नगरपालिकाकी नगर उपप्रमुख शिवकुमारी चौधरीले लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रहि उत्कृष्ट कार्य गर्ने ६ जना महिला कर्मचारीलाई प्रसंशापत्र प्रदान गरेकी थिइन् । 
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र कुँवरले गत १५ महिना अगाडि चितुवाको आक्रमणमा परी बर्दियाको गुलारिया बस्ने ७ वर्षीय सिर्जन चौधरीलाई सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रबाट माध्यमिक तहसम्म नि:शुल्क अध्यनको व्यवस्था मिलाउने र निजको बोली प्रष्ट नहुने समस्याको उपचार गराइदिने प्रतिबद्धता पत्र उनका बुबा उमेश थारुलाई हस्तान्तरण गरेका छन् । 
आर्थिक अवस्था सारै कमजोर भएकाले छोरो राम्रोसँग बोल्न पनि नसक्ने अवस्था भएको हुँदा सशस्त्र प्रहरी परिवार महिला संघले लिएर आफ्नो छोराले पढ्न पाउला भनेर आफूले कल्पना समेत नगरेको सिर्जनाका बुबा उमेश थारु बताउँछन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष तारा देउवाले विगतदेखि केन्द्रमा मात्र सीमित यस किसिमको समारोह वर्तमान केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको सोच, सदिक्षा र प्रभावकारी नेतृत्वका कारण प्रदेश स्तरमा पनि आयोजना गर्ने परिपाटीको थालनी भएकोले सेवाको क्षेत्र फराकिलो हुँदै गएको बताइन् । 
यसअघि असार १५ गते लुम्बिनी प्रदेशमा साताव्यापी रूपमा मनाइएको संघको वार्षिकोत्सवको अवसरमा गत जेठ २२ गते विपद् पूर्वतयारी अभ्यासका क्रममा सप्तकोशीमा डुबेर मृत्युवरण गरेका दुई गोताखोरको पवित्र आत्माको चीर शान्तिको कामना गर्दै लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको थियो ।