काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडियामा पक्राउ परेका बर्दिया बाँसगढी नगरपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
एनसिबि पीएचएनओएम–पीईएनएच कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ उनलाई बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योति गुरूङमार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योतिबहादुर फरार रहेका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योती बहादुर बीच सम्पर्क गराएको, ज्योतिबहादुरले सहकारी संस्थाका सचिव कृष्ण बहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
ज्योतिबहादुर भण्डारीको नाममा जारी भएको दुई वटा राहदानीमा दुईवटा फरक फरक नागरिकता उल्लेख भएको, ज्योती बहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योति विरूद्ध रेड नोटिस जारी भएको थियो ।
यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तो छ थप विवरण–