काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकल पौडेलसहित ६ जना आरोपित रहेको भ्रष्टाचार मुद्दाको पुनरावेदन लिएर सर्वोच्च अदालतमा पुगेको छ ।
विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि आयोग सर्वोच्च गएको अख्तियारले जानकारी दिएको हो ।
सो मुद्दामा पौडेलसहित नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय पनि प्रतिवादी रहेका छन् ।
उनीहरुले सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटिज प्रिण्टिङ प्रेस खरिद कार्यमा अस्वभाविक लागत अनुमान तयार गरेको, गुणस्तरहीन ट्रान्सफर्मर खरिद–आपूर्ति, सम्झौताको शर्त विपरीत अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी गर्ने कार्य गरेको र वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने समान खरिद गरेको अख्तियारको आरोप छ ।
अख्तियारले यस मुद्धामा पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ बिगो मागदाबी गरेको छ । त्यस्तै, नविन कुमार पोखरेलविरुद्ध ४९ करोड, ४६ लाख ३५ हजार ९०५, रमेश पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७, मनिक मान महर्जनविरुद्ध ३ करोड ४४ लाख ६८ हजार ७२९, राम बहादुर बुढाविरुद्ध १९ करोड, ८८ लाख ९४ हजार २८९ र शिरीष उपाध्यायविरुद्ध ४० करोड १ लाख, ३९ हजार ७३६ रुपैयाँ विगो माग दाबी गर्दै सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिएको छ ।