काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थठानबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
झापा, रुपन्देही, सिन्धुली, मोरङ, भक्तपुर र बाँकेबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
झापाको दमक नगरपालिका–७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका–७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी, झापाकै बिर्तामोड नगरपालिका–४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका–३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका–३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका–१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।