काठमाडौं । मनसुनजन्य विपदको पूर्वतयारीस्वरुप आयोजना गरिएको प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यासका क्रममा कोशी नदीमा वेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदखो खोजीका लागि डीएसपी विजय हमालको कमान्डमा टोली परिचालन भएको छ ।
शुक्रबार बिहानैदेखि सुरू गरिएको खोजी कार्यमा ५५ जना सुरक्षा फौज परिचालित छन् । डीउस्पी हमालको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट बिपद् व्यवस्थापन तालिमप्राप्त डीएसपी बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँचजना गोताखोरलाई बिशीबार राति नै त्यस तर्फ पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक (सह–प्रवक्ता) शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षक भण्डारी २०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका र त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल, पानीको बहाब र अन्य कुरा फिल्डमानै नहेरि भन्न नसकिने बताएको सहप्रवक्ता थापाले जानकारी दिए ।
उनले यो तालिम नभइ मनसुनजन्य विपद् उद्दारको पूर्वतयारीस्वरुप गरिएको सिमुलेसन अभ्यास भएको स्पष्ट पारेका छन् । यस प्रकारका अभ्यास अहिले देश भरिनै भइरहेको उनको भनाइ छ ।
बेपत्ता भएका उनीहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन् । त्यसपछि उद्दारका लागि विभिन्न ठाउँमा खटिएका थिए ।
यस्तो छ, घटना विवरण–
सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार ०७:४५ बजे अभ्यास शुरु भएको थियो ।
सो क्रममा दिउँसो १५:१० बजे नं. १ श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका छन् ।