काठमाडौं । बैशाख र जेठ महिनामा नेपाल प्रहरीका चार उच्च अधिकारीहरु उमेरहदका कारण सेवानिवृत हुने भएका छन्। प्रहरी नियमावलीमा बिद्यमान ब्यबस्था अनुसार एआईजी र डीआईजीको ५६ बर्षे उमेरहदका कारण यहि बैशाख ५ गतेदेखि एआईजी सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। त्यस्तै बैशाख ७ गतेदेखी एआईजी मिरा चौधरी थारु र डीआईजी बिकासराज खनालले पनि अनिवार्य अवकाश पाउनेछन्।
त्यस्तै डीआईजीको ५६ बर्षे उमेरहदका कारण डीआईजी सुरेन्द्र प्रसाद मैनाली पनि जेठ १० देखि सेवा निवृत हुनेछन्। अवकाशमा जाने एआईजी भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, एआईजी चौधरी नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन बिभाग प्रमुख, डीआईजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख र डीआईजी मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
सरकारले २०८१ बैशाख शुरुमै नेपाल प्रहरीका दुई एआईजीहरुको अनिवार्य अवकाश पश्चात् रिक्त हुने दरबन्दीमा बढुवाको लागि छलफल अगाडी बढाएको छ। रिक्त हुने दुई एआईजीको लागि २०७९ असार १७ मा बढुवा भएका डीआईजीहरु उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा उत्रिएका छन्।
एआईजीमा बढुवा भइहाले पनि ५६ बर्ष उमेरहदको कारण जेष्ठता सुचीको पहिलो नम्बरमा रहेका डीआईजी जोशीले आगामी असार १९ मा र जेष्ठता सुचीको चौथो नम्बरमा रहेका डीआईजी पोखरेलले अनिवार्य अवकाश पाउने भएकाले उनिहरुको एआईजीमा बढुवा हुने सम्भावना न्यून छ। जेष्ठता सुचीको छैटौं नम्बरमा रहेकी डीआईजी सिंहको भविष्यमा पनि एआईजी बन्ने सम्भावना बाँकि नै रहेकोले उनलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिने सरकारको रणनीति छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस निकट भनेर चिनिएका तेस्रो र सातौं बरियताका जोशी र राणाको पनि एआईजीमा बढुवा हुने सम्भावना अत्यन्तै न्युन देखिन्छ। डीआईजीको ५६ बर्षे उमेरहदका कारण राणाले आगामी कार्तिक २६ र जोशीले कार्तिक १८ गतेदेखि अनिवार्य अवकाश पाउनेछन्। त्यसो हुँदा डीआईजी बरियताको दोश्रो नम्बरका भिमप्रसाद ढकाल र पाँचौ नम्बरका बुद्धिराज गुरुङलाई सरकारले एआईजीमा बढुवा गर्नेछ। उच्च स्रोतका अनुसार रिक्त हुने दुई एआईजीमा डीआईजीद्वय ढकाल र गुरुङलाई बढुवा गर्ने गरि सरकारले आन्तरिक छलफल अगाडी बढाएको छ।
त्यस्तै डीआईजी मैनालीको अवकाशपछि जेठ १० सम्म रिक्त हुने ४ एआईजीको दरबन्दीमा एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल, ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दको डीआईजीमा बढुवा हुनेछ। राउत, रावल र चन्द आईजीपी बसन्तबहादुर कुँवरका ब्याचमेट हुन्।