काठमाडौं । बाँके, झापा र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै, कैलाली गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।