काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मकवानपुर, कैलाली, सुर्खेत, सप्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकमा ना.४५ प १६११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने २३ वर्षीय सुरज मैनालीको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
कैलाली, कैलारी गाउँपालिका-४ स्थित सडकमा से.२ प ९६८७ नम्बरको मोटरसाइकल गोरु गाडा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-७ बस्ने राम बहादुर चौधरीको प्रादेशिक अस्पताल सेतीमा उपचारको क्रममा मृत्यु भएको छ । गाडा चालक कैलारी गाउँपालिका-४ बस्ने ४५ वर्षीय पतिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, चुरे गाउँपालिका-६ धप्रेनीस्थित सडकमा से.१ क ६९७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका बयाला बस्ने ३० वर्षीय नरेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सहचालक सोही गाउँपालिका बस्ने ३० वर्षीय पदम सुर्जाको पदमा अस्पताल उत्तरियामा उपचार भइरहेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका-९ स्थित सडकमा भे.६ प ४६२९ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-९ ठूलो जात्री बस्ने २० वर्षीय गोविन्द बिकको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका-८ स्थित सडकमा स.१० प ७३६३ नम्बरको मोटरसाइकलले मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको सगरमाथा अंचल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ पोखरीया बस्ने ४० वर्षीय राजेन्द्र मण्डलको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-१ स्थित सडकमा लु.३६ प १८०४ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल वतन नखुलेका मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय सौगात घलेको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने १४ वर्षीय रुपेश श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।