काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
बझाङ, मष्टा गाउँपालिका-१ डौठीस्थित सडकमा से. १ ज १०७२ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन्द्र थापा समेत १० जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको नर्सिङ होम नेपालगंजमा र अन्य २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखतको लागि प्रहरीले आवश्यक कार्य गरिरहेको छ ।
कैलाली, घोंडाघोंडी नगरपालिका-१० स्थित सडकमा से.३ प ६३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो सडक छेउँमा रहेको बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ दिपनगर बस्ने २१ वर्षीय दिनेश टमटाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका-११ बस्ने ४० वर्षीय कर्ण कामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा, गौरादह नगरपालिका-७ स्थित भेटवालचोकमा मे.१ ख २७०४ नम्बरको टिपरले सोमबार दिउँसो ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने सुनसरी तरहरा घर भएका कृष्ण गिरीको १० वर्षीय छोरा ओमराज गिरीको घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, औरही नगरपालिका-१ जंघाखोला पुलस्थित सडकमा ज.१ त ४२७९ नम्बरको ट्याक्टर र अन टेस्ट लेखिएको मोटरसाइकल सोमबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका-३ नवराजपुर बस्ने १८ वर्षीय मनोज यादवको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरेहको छ ।
नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१० सिस्नेस्थित सडकमा लु.१ ख ८३२६ नम्बरको बस र ना.३ प ८७६३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय वीरेन्द्र नन्द सन्यासीको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गैंडाकोट नगरपालिका-३ बुलिङटार बस्ने ३७ वर्षीय बिष्णु निर्मल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।