काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामध्ये रसुवा कालिका गाउँपालिका-४ स्थित सडकमा बा.१० च ५८२० नम्बरको जिप सडकबाट करिब सय मिटर तल त्रिशुली नदीमा खस्दा गम्भीर घाइते भएका आमाछोदिङ्मो गाउँपालिका-४ का ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षीया साहिली घले र ३५ वर्षीया मेन्दु घलेको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ५ जनालाई थप उपचारको लागि ग्रिन सीटी अस्पताल धापासी काठमाडौं रिफर गरिएको छ । दुर्घटनामा बेपत्ता भएका आमाछोदिङ्मो गाउँपालिका-४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङजेन तामाङ र २० वर्षीया त्लेतङ घले समेत ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । उक्त जिप पोखराबाट गोल्जुङ रसुवातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।
यसैगरी गुल्मी रेसुङगा नगरपालिका-७ स्थित सडकमा लु.१ त ३३९३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा सहचालक मदाने गाउँपालिका-६ बस्ने २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य २ जनाको रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-६ स्थित सडकमा लु.१ त ८८१ नम्बरको ट्याक्टर र लु.१ स २८९९ नम्बरको अटो एकआपसमा ठक्कर खाँदा अटोमा सवार सोहि नगरपालिका-२ का २८ वर्षीय भुवन पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते
भएकी मृतक पाण्डेको ८ वर्षीया छोरी किन्जल पाण्डेको अञ्चल अस्पताल महाकालीमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काभ्रे रोशी गाउँपालिका-६ स्थित सडकमा बा.४ ख ५२३७ नम्बरको मिनि ट्रक र बा.९५ प ७६८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका-२ का १८ वर्षीय अमिन साफीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय नजिर साफीको मेथिनकोट अस्पताल भकुण्डेबेशीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अछाम मेल्लेख गाउँपालिका-६ स्थित सडकमा से.२ त १२१६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोहि स्थान बस्ने डम्मर बोहराको ४ वर्षीय छोरा सुशील बोहराको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी संखुवासभा धर्मदेवी नगरपालिका-३ स्थित सडकमा रोकी राखेको ना.३ ख २१३२ नम्बरको ट्रकबाट लडेर बेहोश भएका सहचालक झापा शिवसताक्षी नगरपालिका-१० का ५० वर्षीय सार्की बहादुर योङहाङ लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।