काठमाडौं । भक्तपुर, बारा, सुर्खेत र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकस्थित सडकमा प्रदेश नम्बर-३-०२-००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमी बस्ने ३५ वर्षीय सतेन्द्र लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, कलैया उपमहानगरपालिका-२७ पसाहा पुलस्थित सडकमा ना.७ त ६२४० नम्बरको टयाक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय छट्टु महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका महत्तोको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-२ रेडियो नेपालस्थित सडकमा भे.५ प ६४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने दैलेख दुल्लु घर भएका २३ वर्षीय शिखर गिरीको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका गिरीको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ सिविरस्थित सडकमा आइतबार बिहान ना.७ ख ३८४४ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही स्थान बस्ने ४० वर्षीय भिमराज स्याङ्तानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानको जिल्ला अस्पताल हेटौंडा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र सहचालकलाई नियन्त्रणमा लिई फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।