काठमाडौं । काभ्रेपलाञ्चोक, रौतहट, सल्यान र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ थुम्कीस्थित सडकमा बाटो निर्माण गर्ने क्रममा अनटेस्ट लेखिएको स्काईभेटर सडकबाट करिब ३ सय मिटर तल सलान्दु खोलामा खसेर बिहीबार बिहान दुर्घटना हुँदा स्काईभेटरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पनौती नगरपालिका-११ बस्ने १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई काभ्रे पनौती नगरपालिका बस्ने १५ वर्षीय रोशन भण्डारी रहेका छन् । दुर्घटनामा घाइते भएका स्काईभेटर चालक २७ वर्षीय जीवन ताम्राकारलाई उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।
यसैगरी काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-९ पानाञ्चेस्थित सडकमा बा.५ च ५०७४ नम्बरको बलेरो गाडी सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा बलेरो गाडीमा सवार सोही ठाउँ बस्ने कृष्ण बहादुर राना मगरको १२ वर्षीय छोरा अनिल रानामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-२ सेल्फी डाँडास्थित बिपी राजमार्गमा सडक विभाग वल्ड वाईल्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंको बा.२ क ५ नम्बरको टिपर सडकबाट करिब २ सय ५० फिट तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा टिपर चालक मकवानपुर टिस्टुङ पालुङ बस्ने २३ वर्षीय अश्विन विष्ट र ललितपुर चुनिखेल बस्ने २२ वर्षीय विशाल खडका रहेका छन् ।
रौतहट, वृन्दावन नगरपालिका-७ धमौरास्थित सडकमा ना.७ त ६१६९ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री देवाही गोनाही नगरपालिका-४ बस्ने ३५ वर्षीया मिरा देवी पटेलको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, बनगार कुपिण्डे नगरपालिका-११ बालुवासङग्रहीमा भे.१ ख २५७३ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा बस चालक सुर्खेत भेरी गंगा नगरपालिका-१ बस्ने ३४ वर्षीय प्रकाश शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १४ जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ ।
झापा, कमल गाउँपालिका-३ रतुवामाई सामुदायिक वनमा बुधबार मे.११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएर ईलाम चुलाचुली गाउँपालिका-२ बस्ने २१ वर्षीय अर्जुन तिवारीको मृत्यु भएको छ ।