काठमाडौं । उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
उदयपुर, ताप्ली गाउँपालिका-२ धपेनीस्थित सडकमा मे.१ ज २६६२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा गाडी धनी झापा बिर्तामोड बस्ने ३३ वर्षीय महेन्द्र राई र गाडीमा सवार ताप्ली गाउँपालिका-२ लेकगाउँ बस्ने २६ वर्षीय मिलन राईको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक उदयपुर ताप्ली गाउँपालिका-१ ओख्ले २१ वर्षीय कोमल राज मगर सहित ४ जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी उदयपुर त्रियुगा नगरपालिका-१० स्थित सडकमा स.१ ह ३८११ नम्बरको अटोरिक्शा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा रिक्शामा सवार सोही नगरपालिका-७ बस्ने २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सिमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य ३ जना मध्य १ जनालाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ । अटोरिक्शा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, बाग्मती गाउँपालिका-४ बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना.६१ प ७९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्ने दिल बहादुर थिङको ३ वर्षीया छोरी अस्मृता थिङको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी, जोरायल गाउँपालिका-१ घोरडीस्थित सडकमा ना.३ ख ६५८८ नम्बरको ट्रक आँफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।