काठमाडौं । सप्तरी, चितवन, ओखलढुङ्गा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सप्तरी, बलानबिहुल गाउँपालिका-२ झिझहा टोलस्थित सडकमा स.८ प ७०११ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुरुङगा नगरपालिका-१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी, कन्चनरुप नागरपालिका-१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका-४ देवैलीस्थित सडकमा रोकी राखेको ना.५ ख ६४४५ नम्बरको ट्रकमा ना.३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका-४ देवैली बस्ने ३० वर्षीय अजय चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओखलढुङगा, सुनकोशी गाउँपालिका-३ स्थित सडकमा बा.६५ प ७४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शेरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-६ लक्ष्मीपुरस्थित सडकमा बिआर ०६ पिडि ३६३७ नम्बरको जिप अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा जिपमा सवार भारत बेगुसराई ग्राम सोनिहार बस्ने ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ५ जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।