काठमाडौं । भक्तपुर, रामेछाप र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित सडकमा बा.९२ प ३४०९ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका भारत घर भएका २५ वर्षीय नरेन्द्र पालको डा.मेमोरियल ईवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।
एनएल०१एडी नम्बरको कन्टेनर ब्याक गर्ने क्रममा उक्त कन्टेनरका सहचालक पाललाई स्कुटरले ठक्कर दिएको थियो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-१ दुवाकोटस्थित सडक छेउमा रहेको टहरामा बा.१ ख ९०९० नम्बरको बसले शुक्रबार साँझ ठक्कर दिँदा टहराभित्र बसिरहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भएका ३० वर्षीय हिम बहादुर तामाङ गम्भीर घाइते भई उपचारको लागि केएमसी अस्पताल दुवाकोट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप, मन्थली नगरपालिका-६ कुनौरीस्थित सडकमा को.२ त ६२८६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ३ मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सिन्धुली गैरीमझुवा बस्ने १८ वर्षीय प्रदिप नेपालीको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका-६ स्थित सडकमा ना.१ क ४५०९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया सुधा देवी ठाकुरको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।