काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा कालोपुलस्थित बेष्ट भेन्यु व्याङकेटमा लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक नाटक शुक्रबार बिहान प्रदर्शन भएको छ ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले लागूऔषध नियन्त्रण गर्नका लागि समाज र बिद्यार्थी बर्गको भूमिका रहने बताउँदै अभिभावक र गुरुहरुको प्रगाढ सम्बन्धले बिद्यार्थीहरुमा पैदा हुने नकारात्मक कुरालाई समयमा नै न्यूनीकरण गर्न सकिने उल्लेख गरे । प्रहरीले समुदायको सहयोगमा समाजमा देखिएका विकृतिहरु न्यूनीकरण गर्न सकिने समेत उनले बताए ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रमा जेभियर ईन्टरनेशनल कलेज कालोपुलका प्रिन्सिपल गोपाल भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रहरी संगित विद्यालय समेतका कलाकारले लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक गितमा नृत्य र जेभियर ईन्टरनेशनल कलेजका विद्यार्थीले लागूऔषध दुर्व्यसन विरुद्ध नाटक प्रस्तुत गरेका थिए ।
साथै सो अवसरमा अचेल नाट्य समुहले लागूऔषध दुर्व्यसनी, दुर्व्यसनीमा फस्ने कारण, त्यसका असर, लागूऔषध प्रयोग कर्तालाई समाज तथा परिवार , साथीभाइ तथा आफन्तजन लागयतले गर्ने व्यवहार, हेर्ने दृष्टिकोण, उनिहरुले झेल्नुपर्ने समस्या र समाधानको उपायसँग सम्बन्धित नाटक प्रस्तुत गरेका थिए ।
जेभियर ईन्टरनेशनल कलेज कालोपुलको सहकार्य तथा महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालका अध्यक्ष, स्थानीय प्रतिनिधिहरु, स्थानीय बासिन्दा लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।