काठमाडौं । सप्तरी, डोटी, सुनसरी, भोजपुर, चितवन र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
सप्तरी, सुरुङ्गा नगरपालिका-५ स्थित सडकमा ना.७ ख ३७०२ नम्बरको ट्याङकरले स.२ प ६५८८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको शप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका-६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
डोटी, दिपायल सिलगढी नगरपालिका-३ स्थित तिखाकाडी भन्ने स्थानमा डोटीको पिपल्लाबाट तिखातर्फ जाँदै गरेको से.१ त २१६३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही नगरपालिका-६ सिलगाउँ बस्ने ३८ वर्षीय टेक बहादुर नेपालीलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायलतर्फ लैजाने क्रममा सोमबार साँझ बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, बर्जु गाउँपालिका-१ स्थित सडकमा को.११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका-१ शुक्रबारे बस्ने २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
भोजपुर, षडानन्द नगरपालिका-१० खोटडाँडास्थित सडकमा को.२ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको तुम्लिङटार मनोकामना अस्पताल संखुवासभामा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवन, रत्ननगर नगरपालिका-७ स्थित सडकमा ना.३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका-६ बस्ने २५ वर्षीय सुदिप राना मगरलाई उपचाको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका-६ बस्ने ३३ वर्षीय दुर्गा बहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.८ प ४६४ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका-५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाको सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।