काठमाडौं । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
मकवानपुर, हटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हटौंडा उपमहानगरपालिका-५ चिसापानी डेरा गरी बस्ने पर्सा बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वाभाठा घर भएकी ४५ वर्षीया प्रमिला देवी पासवानको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा पर्सागढी नगरपालिका-६ बस्ने ३० वर्षीय कन्चन ठाकुरको सोही अस्पतालमा र मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका-१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगरको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-१० बैधीस्थित सडकमा भे.१ च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने राजेन्द्र थारुको छोरी ५ वर्षीया सामना थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका पैदलयात्री बारबर्दिया नगरपालिका-१० बैधी बस्ने ७० वर्षीया रुकमणी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकमा को.२३ प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ लगौना मोडस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी(पूर्व), देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सडकमा ग.१ ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखा, भिमेश्वर नगरपालिका-२ तिखातलस्थित सडकमा नम्बर नखुलेको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीमा सवार बिगु गाउँपालिका-८ खोपाचाँकु बस्ने २३ वर्षीय राजु थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जेसिबी चालक समेत ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१२ ढोटारस्थित सडकमा बा.४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका भाङ्टार बस्ने ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।