काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहका जनप्रतिनिधिलाई सम्पत्ति विवरण तोकिएको समयभित्र अनिवार्य रूपमा भर्न आग्रह गरेका छन् ।
मंगलवार बाराको सिमरामा भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तक्रिया कार्यक्रममा घिमिरेले सार्वजनिक पदाधिकारीहरुको जनमुखी व्यबहारबाट मात्र सुशासन कायम गर्न सम्भव हुने धारणा व्यक्त गरे ।
उनले कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै स्थानीय तहका समस्या समाधान गर्न र सुशासन कायम गर्न सबैले पहल गर्नुपर्ने बताए । स्थानीय तहमा कार्यसम्पादन गर्दा कुनै जटिलता उत्पन्न भएमा सहजीकरणको लागि आयोगसँग समन्वय गर्न आग्रह गर्दै सार्वजनिक विकास निर्माण लगायतका कार्य गर्दा प्रचलित सार्वजनिक खरिद ऐन, नियमको पालना गरी गर्न गराउन आग्रह गरे ।
प्रमुख आयुक्तले सरकारी ऐलानी जग्गा अनियमित रुपमा व्यक्तिको नाममा दर्ता गर्ने र मालपोत कार्यालयबाट रजिष्ट्रेशन बापत प्राप्त भएको दस्तुर लगायतका अन्य राजस्व हिनामिना गर्ने प्रवृत्ति बढीरहेको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको बताउँदै जुनसुकै प्रकारका अनियमितता उपर आयोगले कानूनी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोग अन्तर्गत डिजिटल फरेन्सिक ल्याब र गुणस्तर परीक्षण प्रयोगशाला स्थापना भइसकेको र निर्माण कार्यको अनुसन्धान थप प्रभावकारी रुपमा अगाडि बढाउने क्षमता आयोगमा रहेको जानकारी गराउँदै उनले गुणस्तरयुक्त निर्माण कार्यहरु निर्धारित समयभित्रै सम्पादन गर्न आग्रह गरे ।
कार्यक्रममा आयोगका सहसचिव कालीप्रसाद पराजुली तथा आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख (सहसचिव) हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बारा जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुख, जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाका प्रमुखहरु र सबै नगरपालिकाका प्रमुखहरुलगायत उपस्थित थिए ।