काठमाडौं । पाल्पा, उदयपुर, चितवन र रामेछापको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ अधेरी गैरा भन्ने स्थानमा लु.२८ प ३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची पाणेनी गाउँपालिका साधनबुटा बस्ने ४० वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रिप्दीकोट गाउँपालिका-३ हार्थोक बस्ने ३० वर्षीय सुदन गैरेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
उदयपुर, ताप्ली गाउँपालिका-४ स्थित थानागाउँ भन्ने स्थानमा ना.५ त ६६०७ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही गाउँपालिका जतनपुर बस्ने ५१ वर्षीय होम बहादुर राना मगरको स्वास्थ्य चौकी थानागाउँमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२६ खयरघारीस्थित सडकमा ना.७ त ४७० नम्बरको ट्याक्टरबाट नवलपरासी(पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर खस्न गई सोही ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप, उमाकुण्ड गाउँपालिका-२ जिरोमाईलस्थित सडकमा बा.५ ख ७२५४ नम्बरको आईचर गाडीबाट लडेर गम्भीर घाइते भएका सोही गाडीमा काम गर्ने मकवानपुर मनहरी नगरपालिका-३ बस्ने ३८ वर्षीय कुमार लामाको सगरमाथा मेडिकल वम्ती हुँदै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।