काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) नारायण दत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रूपमा खटिई जान लागेका अधिकृतहरूका लागि आज मंगलबार सञ्चालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्र र सङ्गठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै उनले कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन आह्वान गरे ।
सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र सङ्गठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालन (बीआईआरडी) को अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीतिको पूर्ण रूपमा पालना गरी त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्न समेत आईजी पौडेलले निर्देशन दिएका छन् ।
उनले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरबाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रिय स्तरमा भइरहेका विरोध कार्यक्रमहरू, विपद्, सीमा अपराध र समाजिक सञ्जालको दुरूपयोगबाट उत्पन्न हुनसक्ने खतराहरूप्रति समयमै सजग रहनुपर्ने बताएका छन् ।
महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचविखन, तेस्रो मुलुकका नागरिकहरूको प्रवेश र चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरूमा खटिँदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदै सीमा सुरक्षामा खटिँदा सरोकारवाला, सम्बन्धित निकायहरू तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले सशस्त्र प्रहरी कर्मचारीहरूले सोसल मिडियाको प्रयोग र त्यसको दुरूपयोगको विषयमा सजग रही कार्य गर्नुका साथै मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । असल नियत र इमान्दारीपूर्वक गरिने सम्पूर्ण कार्यको सङ्गठनले उच्च मूल्याङ्कन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूले उच्च मनोवलकासाथ व्यावसायिक ढङ्गमा कार्य गर्नुपर्ने उनको भनाइ थियो ।
तालिम शिक्षालयका समादेशकहरूलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यकासाथ व्यावसायिकता र प्रविधिमा जोड दिदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्नेतर्फ अग्रसर हुनुपर्नेमा पनि उनले बताएका छन् । सङ्गठनका सबै युनिटहरूमा फायरफाइटिङ टीम तयारी अवस्थामा राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी ईलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरूलाई निर्देशन दिए ।
यसअघि विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले कमाण्डमा जान लागेका अधिकृतहरूलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारबाही गर्न निर्देशन दिएका थिए ।