काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् ।
कार्यक्रममा डीआईजी काफ्लेले गत आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरूसम्बन्धी प्रस्तुतीकरण गरे ।
सो क्रममा उनले मानवस्रोत तथा अन्य स्रोत व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याबारे जानकारी दिए । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा उनले संख्यागत विवरण प्रस्तुत गरे ।
यसैगरी उक्त अवधिमा उनले नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारबाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरेका छन् । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै अपराध तथ्याङ्क विश्लेषण, गम्भीर तथा जघन्य प्रकृतिका अपराध दर्ताको त्रिवर्षीय तुलनात्मक विवरण, प्रदेशगत कसुर दर्ता, लागूऔषध बरामद, मुद्दा दर्ता तथा पक्राउ विवरण, बरामद लागूऔषधको परिमाण, मानव बेचबिखन, साइबर ब्यूरोमा दर्ता भएका उजुरीको आधारमा अपराधको वर्गिकरण, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्याङ्क समेत उनले प्रस्तुत गरे ।
डीआईजी काफ्लेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरणबारे जानकारी दिए । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारबाहीसम्बन्धी विवरण, शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारीमार्फत अपराध न्यूनीकरणका प्रयासहरू, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोहरूको सम्बोधन, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदवहालीपश्चात हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उनले उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
साथै उनले नेपाल प्रहरीको भावी स्वरूप, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको परियोजना, नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवा लगायतका विषयहरूमा समेत विस्तृत रूपमा जानकारी दिएका छन् ।
कार्यक्रममा डीआईजी काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरी सेवाग्राही प्रति केन्द्रीत रहेर नागरिकमैत्री सेवा प्रवाहमा सदैव कटिवद्ध रहँदै आएको जानकारी दिए । नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेको महत्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापहरूमा कमी हुनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो एवम् व्यवस्थित भएको उनको भनाइ थियो ।
अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीहरूको मनोवल वृद्धि गर्न विभिन्न किसिमका कल्याणकारी योजनाहरू समेत लागु गरी अगाडि बढ्ने डीआईजी काफ्लेको प्रतिवद्धता छ ।
ट्राफिक जरिवाना संगठनको प्राथमिकता नभएको उल्लेख गर्दै उनले भने, ‘ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने छैन् । हाम्रो मुख्य लक्ष्य भनेको दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कमी गरी सकेसम्म शून्यमा झार्ने हो ।’
दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरूलाई अझ वृद्धि गर्दै प्रहरी सक्रियतामा समेत वृद्धि गर्दै जाने बताउँदै उनले जस्तो सुकै परिस्थितमा पनि कानुन कार्यान्वयनमा नेपाल प्रहरी सदैव दृढ रहेको स्पष्ट गरे । सांगठनिक हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिकप्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरूबीच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने उनले बताए ।
विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रवक्ताहरू तथा जिल्ला प्रहरी कार्यालयहरूका सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्षको कार्य प्रगतिको पूरा विवरण–