काठमाडौं । सीमा सहजीकरण तथा सीमा ईलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टीम (बीआईटी) परिचालन गरिएको छ ।
आज आइतबारदेखि सीमा ईलाकाको मुख्य नाकाहरु झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा १४ जना रहने गरि टोली परिचालन गरिएको हो ।
सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रहि सीमाको मुख्य नाकाहरुमा परिचालन हुने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गर्नुका साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।
सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरुको सहजीकरण, मावन वेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामग्रीहरुको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाईकासाथ काम गर्ने बताइएको छ ।
सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा ईलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेशनल कामकारवाहीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनिपतिहरुले टोली परिचालनको शुभारम्भ गरेका छन्
मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजे देखि साँझ ८ बजेसम्म सादा पोशाक (सफारी सुट) मा रहने जानकारी दिइएको छ ।