काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासन, व्यावसायिकता र इमान्दारितासाथ राष्ट्र तथा आम नागरिकको सेवा र सुरक्षामा समर्पित भएर कार्य गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित कमाण्ड अनुशिक्षण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक पौडेलले परिवर्तित सुरक्षा परिवेशमा सरकार र जनताको चाहना तथा अपेक्षाअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले सीमित स्रोत–साधनका बीच प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शिता, मानव अधिकारको पूर्ण सम्मान र संगठनको नीति–नियमको पालना गर्दै कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएका छन् । गैरकानुनी गतिविधिमा संलग्न हुने वा गलत काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिने चेतावनी उनको छ ।
सो अवसरमा महानिरीक्षक पौडेलले संगठनको मर्यादा कायम राख्दै मुलुक र जनताको हितलाई केन्द्रमा राखेर कार्य गर्नुपर्ने बताउँदै कर्तव्यपालनाका क्रममा सम्बन्धित सरोकारवाला निकायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै परिचालित हुन निर्देशन दिए ।
उनले प्रत्येक दिन सकारात्मक सोचका साथ उत्कृष्ट काम गर्ने संकल्प लिएर उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनुपर्ने उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौतीअनुसार आफूलाई सक्षम र तयार राख्नुपर्नेमा जोड दिए ।
समापन कार्यक्रममा विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेशबहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले कमाण्ड सम्हाल्न जान लागेका अधिकृतहरूलाई सीमा सुरक्षा, अपरेशनल तथा प्रशासनिक जिम्मेवारी त्रुटिरहित ढंगले सम्पादन गर्न निर्देशन दिए ।