रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाभरि सञ्चालन गरेका गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार जेठ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १८८ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने २४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधका ५९ मुद्दा दर्ता भएका छन् । त्यसपछि सामाजिक अपराधका ५२, ज्यानसम्बन्धी २३, आत्महत्याका १४, महिला तथा बालबालिकासम्बन्धी १३, सवारीसम्बन्धी १२ र चोरीका ९ वटा मुद्दा दर्ता भएका छन् ।
समग्रमा जेठ महिनामा जघन्य तथा गम्भीर प्रकृतिका १५४ अपराध, महिला तथा बालबालिकासम्बन्धी अपराधका १४ र आर्थिक अपराधका ७५ घटना अभिलेखीकरण गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
उक्त अवधिमा प्रहरीले विभिन्न अदालतबाट फैसला भई फरार रहेका २४३ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । पक्राउ परेकाबाट ५२ लाख ६६ हजार ४२१ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि पेश गरिएको छ ।
महिला हिंसासम्बन्धी उजुरी उच्च
प्रहरीको महिला तथा ज्येष्ठ नागरिक शाखाको तथ्यांकअनुसार जेठ महिनामा घरेलु हिंसाका ९३ उजुरी दर्ता भएका छन् । तीमध्ये ८३ वटा उजुरी मिलापत्र गरिएको छ । त्यसैगरी महिला छिमेकी झगडा (ठाडो निवेदन) सम्बन्धी ७२ उजुरी दर्ता भएकोमा ६५ वटा मिलापत्रमार्फत समाधान गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अपराध नियन्त्रण, अनुसन्धान तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान निरन्तर जारी रहेको जनाएको छ ।
हेर्नुहोस् पूरा विवरण–