काठमाडौं । पुन: नियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने, लामो समयदेखि थाँती रहेका अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा महत्वपूर्ण फाइलहरू पुन: खोल्ने निर्णय गरेका छन् ।
पदबहाली कार्यक्रममै उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने निर्णय सार्वजनिक गर्दै त्यसबारे निष्पक्ष अनुसन्धान अघि बढाइने बताएका छन् ।
गृहमन्त्री गुरुङले पदभार सम्हाल्दै राज्यका अनुसन्धान निकायलाई प्रभावकारी बनाउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले विशेष गरी सीआईबीलाई अझ सक्षम र स्रोत–साधन सम्पन्न बनाउने तथा वर्षौँदेखि अनुसन्धानकै चरणमा रहेका प्रकरणहरूलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
पदबहाली कार्यक्रममा उनले आफूविरुद्ध विभिन्न आरोप लागे पनि त्यसलाई सहन सक्ने तर नेपाली चेलीबेटीमाथि हुने अन्याय र दुव्र्यवहार भने कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए । तथ्य र प्रमाणबिनै आरोप लगाउने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले मिडिया ट्रायलका कारण कसैको जीवन नै संकटमा पर्ने अवस्था आउन नहुने धारणा राखे । ‘ममाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्छु, तर नेपाली चेलीहरूले दु:ख पाएको सहन सक्दिनँ,’ उनले भने ।
गृहमन्त्री गुरुङले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी आन्दोलन’सँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा समेत अध्ययन गरिने जानकारी दिए । कानुनी र संवैधानिक पक्षको समीक्षा गरेर मात्रै आवश्यक निर्णय लिइने उनको भनाइ थियो ।
उनको पदबहालीसँगै दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने निर्णयले राजनीतिक तथा सामाजिक वृत्तमा नयाँ बहस सुरू हुने देखिएको छ । साथै अनुसन्धान निकायको क्षमता विस्तार र पुराना विवादित घटनाको पुन: छानबिन गर्ने संकेतलाई सरकारले सुशासन र जवाफदेहितातर्फको कदमका रूपमा प्रस्तुत गरेको छ ।