काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूमा पुरस्कार र दण्डको नीतिलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटिइ जान लागेका अधिकृतहरूलाई उनले आज मंगलबार यस्तो निर्देशन दिएका हुन् । राष्ट्र, सङ्गठन र आम जनताको अपेक्षा अनुसार कार्यक्षेत्रमा खटिँदा कुनै पनि कमीकमजोरी नगरी थप व्यावसायिकता र ऊर्जाकासाथ कार्य गर्न पनि उनले निर्देशन दिए ।
महानिरीक्षक पौडेलले आफू मातहत कर्मचारीहरूको मनोवल उच्च राखी समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने चर्चा गर्दै मातहत कर्मचारीहरूको पीर, मर्का र गुनासोहरूलाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिएका छन् । फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र सङ्गठनको नाम उच्च रहने उनको भनाइ थियो ।
कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र ऊर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्कका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न सबै तहका कमाण्डरहरू समेत चनाखो भएर लाग्नुपर्ने बताए ।
राजस्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करीविरुद्ध कडा रूपमा प्रस्तुत भई नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरू सीमाबाट भित्रिन नदिन पनि उनले निर्देशन गरेका छन् । सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरूले मातहतका युनिटहरूसँग समन्वय र सहकार्य गरी हरेक कामकारबाहीको जानकारी लिई थप मजबुद बनाउनुका साथै सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूले सरोकारवाला र समकक्षीसँगको समन्वय र सहकार्यलाई अझ बढी प्रभावकारी बनाउँदै अघि बढ्न समेत निर्देशन दिए ।
आर्थिक पारदर्शिता, लैङ्गिक हिंसा, मानवअधिकारका विषयमा शून्य सहनशिलताको नीति सङ्गठनले लिएको हुँदा सोही अनुसार कार्य गर्न उनको निर्देशन छ ।
उनले सल्यान र जाजरकोटमा गल्ती गर्ने कमान्डरलाई कारबाही गरिएको स्मरण गराउँदै बीओपी नेचुङका कमाण्डरमाथि पनि छानबिन भइरहेको जानकारी दिए । यसतै, नेपाल एपीएफ स्कुल कीर्तिपुरको विषयमा समेत छानबिन समिति गठन गरेर सत्य तथ्य बुझ्ने प्रक्रिया अघि बढेको उनले बताए ।