काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल प्रहरीको अनुसन्धान तथा अभियोजन प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल प्रहरीको अनुसन्धान क्षमतालाई सुदृढ बनाउन आधुनिक प्रविधिको प्रयोगमा जोड दिइने बताएका हुन् ।
बजेट वक्तव्यअनुसार अनुसन्धान तथा अभियोजन प्रक्रियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गरिनेछ भने विधिविज्ञान (फरेन्सिक) प्रयोगशालाको क्षमता अभिवृद्धि र आवश्यक भौतिक पूर्वाधार विकासका लागि लगानी बढाइनेछ । सरकारले यस कदमलाई अपराध अनुसन्धानलाई वैज्ञानिक, छरितो र विश्वसनीय बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अवकाश सेवा अवधि तथा निवृत्तभरण (पेन्सन) सुरू हुने समयबीच रहेको विद्यमान अन्तरबारे पनि सरकारले अध्ययन गर्ने भएको छ । बजेटमा उक्त विषयको पुनरवलोकनका लागि अध्ययन गरिने उल्लेख गरिएको छ, जसलाई सुरक्षाकर्मीको सेवा–सुविधासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा हेरिएको छ ।
बजेटले सशस्त्र प्रहरी बल (एपीएफ) लाई अन्तर्राष्ट्रिय सीमा सुरक्षामा केन्द्रित ‘डेडिकेटेड व्यावसायिक फोर्स’ का रूपमा विकास गर्ने नीति पनि अघि सारेको छ । सरकारको यो योजनाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा सीमाक्षेत्रको निगरानी व्यवस्थापनमा एपीएफको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि, अनुसन्धान प्रणालीको आधुनिकीकरण तथा सीमा सुरक्षाको व्यावसायिक व्यवस्थापनलाई आगामी वर्षको प्राथमिकतामा राखेको बजेट वक्तव्यबाट स्पष्ट भएको छ ।
– नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनेछौँ । विधिविज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ ।
– नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्तभरण सुरु हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पूनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौँ ।
– सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रूपमा विकास गर्नेछौँ ।
यो पनि पढ्नुहोस् : नयाँ सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट (पूर्णपाठसहित)